अमेरिका बस्ने सरिताको वास्तविक यस्तो कथा,अमेरिका भनेर मात्र हुदैन (पुर्ण पाठ)

  NTV NEWS

४ मे सिड्नी ।

अमेरिका बस्ने एक सरिता नामकी महिलाले आफ्नै जीवनको वास्तबिक कथा पेस गरेकी छिन् । जुन सामाजिक संजालमा पोष्ट भएका छन् ।

सरिताका आफ्नै शब्दमा-

मान्छेहरु भन्छन्, बिहेपछि महिलाको भाग्य खुल्छ, नयाँ जीवनसाथी पाएर उसले हात समातेर हिँडाउँछ । उसलेे जीन्दगीका सबै दुःख हटाएर सुख नै सुख दिन्छ । यस्तै सपना मैले पनि सजाएकी थिएँ । तर, यो थाहा थिएन कि त्यही सपनाले मेरो जिन्दगीको सारा खुशी छिनेर लिनेछ ।विजय साहसँग मेरो बिहे सन् २००६ मा भएको हो । अहिले दुई छोरा छन्, १० र ८ वर्षका । स्कुल जान्छन् । म अमेरिकामा बस्छु ।मेरो बिहे हुनुभन्दा दुई महिना पहिले मेरी दिदीको बिहे भएको थियो । त्यही भएर बुबाले अहिले कान्छी छोरीको बिहे गर्दिनँ भन्नुभएको थियो । तर, त्यसबेला विजय साहले भने- जहिले पनि अमेरिकाबाट आउँछु बिहे गर्न, पैसा खर्च हुन्छ, तर बिहे हुँदैन । यदि योपालि पनि भएन भने म अब कहिल्यै आउँदिन बिहे गर्न । यो कुराले विजयकी आमा चिन्तामा पर्नुभयो ।

विजय साहको घर नजिककी छिमेकीले मेरा बुबासँग कुरा गरे । बुबाले भन्नुभयो कि दुई महिनापहिले मात्रै ठुली छोरीको बिहे गरेर अहिले कसरी अर्को बिहे गर्ने ? तर उताबाट जोड गरेपछि घरका सबै मान्छेले छलफल गरे । दाइजो केही नलिई यत्तिकै बिहे गर्न विजय तयार भए ।

तर, उनले बिहेको ३/४ दिनपछि देखि दाइजोको कुरा झिकेर दुःख दिन थाले । बिहेको ३/४ दिने पछिदेखि नै उसले मसँग सरसामान, पैसा र दहेजका लागि कुटपिट गर्न थालेे । घरमा सुनाउँदा सबैले उनलाई सम्झाउने प्रयास गरे । तर, मान्छेको बानी व्यहोरा कहाँ परिवर्तन हुन्थ्यो ?यो सिलसिला नेपालबाट लिएर अमेरिकासम्म आइपुग्यो । उनी नकारात्मक सोच र ईष्र्याको भण्डार रहेछन् । अमेरिकामा त्यति लामो समयसम्म बसेर पनि जीवनमा केही सिक्न गर्न सकेनन् । लडाइँ झगडा गर्ने, शंका गर्ने सोचले गर्दा ।मैले यहाँ आएपछि साथीभाइहरु बनाएँ । उनको जीवनशैलीलाई परिवर्तन गर्ने प्रयास गरें । सोच्ने तरिकालाई अलिअलि बदलें । यो सबै देखेर साथीभाइले जब मेराबारेमा राम्रो कुरा भन्थे, त्यसबाट उनलाई जलन हुन्थ्यो । किन त्यो मान्छेले तिम्रा लागि त्यस्तो कुरा बोल्यो भनेर शंकाको भावना राख्न थालेे ।जहिले पनि सानोतिनो कुरा हुँदा तेरो बाबु भिखारी छ भन्दै दाइजोको कुरो गर्ने, कुटपिट गर्नेर् । म नेपाली संस्कार र बाबुआमाको इज्जतलाई हेरेर जहिल्यै चुप लाग्थें ।

म आफूले मात्रै काम गरेर घर चलाउँथें । उनलाई काम गर भन्दा झर्किने, गाली गर्ने । लोग्ने मान्छे हो, बच्चा श्रीमतीप्रतिको दायित्व हुनुपर्ने हो । त्यो भएन । म साथीभाइसँग सहयोग लिएर काममा जाने-आउने गर्थें । दुईवटा बच्चालाई हेरचाह गर्नु सानो कुरा होइन ।१२ वर्षको हाम्रो दाम्पत्य जीवनमा उनले कहिल्यै पनि श्रीमतीलाई दिने माया र व्यवहार बुझेनन् । जहिल्यै पनि पैसा र सम्पत्तिलाई महत्व दिने, मान्छेलाई होइन ।

अमेरिका जस्तो देशमा बसे पनि दहेजका लागि मर्ने मान्छे हुन् यिनी । जसले मानवतालाई भन्दा पैसालाई बढी मूल्यवान ठान्छन् ।उनी जहिले पनि लडाइँ गर्दा मेरो पर्स, गाडीको साँचो र फोन लिन्थे, अनि भन्थे- जाऊ यहाँ तिम्रो कुन बाबुआमा छन्, उसँग गुहार माग । १२ वर्षमा करिब ५० चोटि मलाई पिटिसकेको त्यो मान्छेको हिम्मत दिनदिनै बढ्न थाल्यो । ममाथि अत्याचार हुन थाल्यो । उनले मेरो भावना बुझ्न सकेनन् कि मेरो दिमागमा उनका लागि माया र समाजलाई ध्यान राखी केही कुनै कारवाही गरिनँ ।२०/२५ वर्षदेखि उनका दाजुभाइमा पनि दुश्मनी थियो । उनका आफन्तले उनीमाथि माओवादी लगाउने प्रयास पनि गरे । तर, उनले आज तिनै दाजुभाइका लागि आफ्नी श्रीमती र बच्चाहरुको बलिदानी दिँदैछन् । उनी आफैंले दाजुभाइबाट जोगाउन सम्पत्ति मेरा नाममा राखेका हुन् । त्यो सम्पत्ति दुई भाइ छोराहरुलाई चाहिन्छ कि चाहिँदैन ? त्यसैले सम्पत्ति हडपेको र सडकमा ल्याएको भन्न मिल्छ ? यसमा समाजले हेरिदेओस् । म र मेरा छोराहरुलाई न्याय दिइयोस् ।

म आफू मध्यमवर्गकी मान्छे, जसले जहिल्यै पनि इज्जतको पर्वाह गर्छ । समाजको पर्वाह गर्छ । बाबुआमाको मान-सम्मान सोच्ने छोरी भएकाले मैले आफ्ना बाबुआमाको मर्जीले त्यस्तो मान्छेसँग बिहे गरें ।अहिले उनी यहाँबाट मलाई पिटेर भागेका छन्, पुलिसको डरले । उनी लगभग दुई वर्षदेखि काम छाडेर घरैमा बसेका थिए । म एउटा वेयरहाउस कम्पनीमा काम गर्छु ।

उनले १२ वर्षको जीवन नर्कजस्तो बनाइदिए । म भगवानसँग सोधिरहन्छु । म कुनै स्टेप उठाउन सकिरहेको छैन । किनकि मेरो संस्कारले त्यसो गर्न दिँदैन सायद । म त सपनामा पनि कसैको चित्त दुखाउन सक्दिनँ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार